त्यसपछि मैले बिहे गरिनँ

- दीपक घिमिरे
आमा! यो शब्द मेरा लागि सबैभन्दा प्यारो र भगवान्कै नाम लिएजस्तो लाग्ने शब्द हो। आमासँगै जोडिने बा शब्द पनि कम्ताको होइन। मलाई अधर्मी र नास्तिक भन्नेले भनून् तर मेरा लागि शिव र पार्वती भनेकै मेरा आमाबा हुन्। मेरा बाआमाले मेरा लागि धेरै दुःख पाएका थिए रे। बाले ती पीडा लुकाउनु हुन्छ तर आमा अझै ती पुराना दुःख सम्झदै भन्नुहुन्छ, ‘तेरो खुशीका लागि मात्र बाँचेको हुँ, नत्र नाम्लोको पासो लगाएर उहिल्यै झुण्डिन्थें पिपलको बुटामा।’

आमाले कहिलेकाहीँ कथाजस्तै गरेर आफ्नो बाल्यकाल अनि आजसम्मको दुःखकष्ट सुनाउनु हुन्छ। उहाँको अनुहारमा पनि हामी सजिलै देख्थ्यौं कि आमाले जीवनभर सुख पाउनु भएको छैन। उहाँ भन्नुहुन्थ्यो, ‘जन्मेर थाहा पाउने बेलादेखि घाँस दाउरा गर्दैछु, कुन दिन तँ ठूलो होलास् र बिहे गर्लास् अनि सुख पाउला भन्या छु।’

उहाँका यस्ता कुरामा म लजाउँथें अनि भन्थेँ, ‘भाक, कस्ले गर्च र ब्यारु’

बाआमाका लागि म असल छोरा थिएँ। मेरा लागि बाआमा नै भगवान् थिए। मलाई जन्म दिने आमा मेरो पहिलो साथी थिइन् भने मलाई कखरा र नैतिकता सिकाउने मेरा बा मेरो पहिलो गुरु। दुःख बालाई पनि थियो तर दुःख भुलाउने साथी थिए। साथीभाइसँग दुःख भुलाउने बहानामा बाले हल्का दारु चढाउनु हुन्थ्यो। घरमा आएर खुशीहुँदै भन्नुहुन्थ्यो, ‘संसारमा म जति भाग्यमानी कोही छैनन्। हरेक सुखदुःखमा साथ दिने बूढी छे। यस्तो लायकको छोरो छ। आज खुशीले धेरै रक्सी पिएको छु। गाली नगरेस् है छोरा।’

तर आमालाई दुःख भुलाउने कतै ठाउँ र कुनै बहाना थिएन। मात्र काम थियो। बिहान उठ्यो, अनि काममा लाग्यो। बेलुका हाम्लाई सुतायो अनि बल्ल आफू सुत्यो। त्यसैले आमाको माया अलि धेरै लाग्ने, आमाले सुख पाए हुन्थ्यो भन्ने भावना भित्रैदेखि जाग्ने। तर आमाको काम मैले गरेर आमा सुखी र खुशी हुनुहुन्थेन, उहाँले भन्नुहुन्थ्यो, ‘जुन दिन तैले ब्या गर्चस् त्यो दिनदेखि यो सबै काम तेरो स्वास्नीले गर्चे, म चैं सुखले बसेर खान्चु।’

आमाको सुखका लागि धेरै पटक बिहे गर्ने जमर्को गरेँ तर मिल्दै नमिल्ने। कहिले उमेर नमिल्ने, कहिले खानदान त कहिले ऊसँगको रहनसहन। छिट्टै बिहे गर् भन्ने चाहना बाआमा कसैको पनि थिएन तर म सोच्थेँ, ‘बाँच्दासम्म त आमाले सुख पाउनु नै पर्छ, आमाको सुखका लागि मैले बिहे गर्नैपर्छ।’

जति दुःख पाए पनि आमा सधैँ हँसिली। बरु म आफैँलाई आमाको दुःख देखेर तनाब हुन्थ्यो तर आमालाई त्यो महसुस थिएन। सायद दुःख गर्ने बानी नै लागिसक्यो। जुन दिन घरमा बुहारी भित्रिन्छे त्यो दिनदेखि आमाले सुख पाउने सपना देख्नुभएको पनि म गर्भमै हुँदादेखि हो रे। बाले बेला मौकामा आमालाई झपार्दै भन्नुहुन्छ, ‘छोरो मान्छे कर्मले कहाँ लैजान्छ। तेरो गुन्यु धोएर बस्छे नि हाम्री ब्वारी। ब्वारी भित्र्याएर सुख पाइएला भन्ने नसोच। बरु अब आफैँ सुख खोज्नुपर्छ। ’

बाको कुरा आमालाई चित्त बुझ्थेन। बालाई खत्रा डाइलग दिँदै भन्नुहुन्थ्यो, ‘तपाईंजस्तो आमाको माया नमान्ने छोरो हैन मेरो। आमाले सुख पाउनुपर्छ भन्ने संस्कार सिकाएकी छु यस्लाई। आफू देशको जुन कुनामा बसे पनि ब्वारीलाई हामीसँगै छाडिदिन्छ, उसैले पाल्छे हाम्लाई।’

आमाको कुरामा बा सहमत हुनुहुन्थेन। तर म सहमत थिएँ। मैले पनि सोच्थेँ, बाआमा बाँच्दासम्म मेरो स्वास्नीले बाआमाकै सेवामा दिन गुजार्ने छे। उहाँहरुलाई खुशी पारी भने म त्यसै खुशी हुनेछु। आमालाई सपोर्ट गर्दै कयाँै पटक भनेको छु, ‘स्वास्नी यस्ती होस् कि बरु मलाई हेला गरोस् तर मेरा बाआमालाई सधैं माया गरोस्, बाआमालाई हँसाई भने म त्यहीं हाँसोमा जीवन गुजारिदिन्छु।’

बा यति छिटो बिहे नगर्ने पक्षमा उभिनुहुथ्यो। मेरो बिहेको कुरा निस्कँदा सधैँ भन्नुहुन्थ्यो, ‘मेरो छोरा पहिले पढ्छ, डिग्री गरेसी कुल घरानाकी छोरी बिहे गर्छ। घरमा काम गर्ने, हाम्लाई भात पकाएर खुवाउने बुहारी चाहिएन। पढेको छोरालाई पढेकै बुहारी चाहिन्छ। त्यसैले अझै बिहेका लागि हतारो छैन।’ बाको यस्तो विचारमा पनि आमाको सोचाइ भिन्न हुन्थ्यो। बाको कुरा काट्दै आमा भन्नुहुन्थ्यो, ‘मेरो छोरीजस्तो गराएर पाल्ने हुँ, उसको हातले पकाएको खान छाडेर जान दिउँला नि पोइसँग। यो जाँ जान्छ जावस् तर ब्वारीले हाम्लाई स्याहारेर बस्छे।’

आमाको इच्छा र मेरो योजना पनि उस्तै थियो। मैले बिहे गरुँ, घरकी छोरी बनेर ऊ बसोस्। मेरा बाआमालाई मैलेभन्दा सयौं गुणा धेरै माया गरोस्। आमाकी साथी बनोस्, बाकी छोरी बनोस् अनि मेरी स्वास्नी बनोस्। यस्तै कुरा मनमा खेलाउँदै दिनहरु बिते। मसँगका साथीसंगीले पनि बिहे गरे। म पनि बिहे गर्ने लायक भइसकेँ। सबैतिरबाट बिहेका लागि अफरहरु ओइरिए।

मजस्तै बाआमाको माया मान्ने मेरो छिमेकी दाइ हरिले पनि बिहे गर्यो। बडो धुमधामसँग बिहे भयो उसको। उसका बाआमासमेत नाचे उसको बिहेमा। दश कक्षा पास गर्न नसकेर खाडी छिरेको हरि दाइले आफ्नो पुरानो लभरलाई लात हानेर बाआमाले हेरेकै केटीसँग मागी बिहे गरे। बिहेको चार दिनपछि चौपारोमा हामीसँग सिरियस हुँदै भन्या थे, ‘त्यो छम्माले बाआमालाई राम्रोसँग पाल्न सक्दैनजस्तो मानेर बिहे गरिनँ त्यसलाई। यो तिमेरुको भाउजू चैं बाआमाको च्वाइस हो यार। बाआमा बाँच्दासम्म माया गरेर पालोस् अरु केही चाहिन्न बड्डा।’

हरि दाइको बिहे भएको पन्ध्र दिनमा भाउजू माइत हिँडिन्। हरि दाइको घरमा अशान्तिले जरो गाड्यो। महिना दिनअघि बाआमाका लागि भित्र्याएकी स्वास्नीले तिनै बाआमालाई लात हानेर माइतमा बस्न थालेसी हरि दाइ बिचल्लीमा परे। कसलाई रोज्ने अवस्थामा हरि दाइ परे। बाआमालाई रोजून्, अग्निसाक्षी राखेर ल्याएकी स्वास्नी हो। स्वास्नीलाई रोजून्, जन्म दिने बाआमा हुन्, पाप लाग्ने नै भयो। तर बिचरालाई यस्तो फसाद परेछ कि स्वास्नीले जान्न भन्ने। बाआमाले ल्याइस् भने तिमीहरु बस्नू हामी निस्कन्छौं भन्ने। अन्तमा बजारमा कोठा भाडामा लिएर बस्न थाले।

बाआमाका लागि बिहे गर्ने हुँ भनेर मैले कुरा निकाल्दा आज पनि हरि दाइले मलाई सम्झाउँदै भन्छन्, ‘बाआमालाई माया देऊ, काम होइन। नजिक बसेर मनको टाढा हुनुभन्दा टाढा बसेर मनको नजिक हुन राम्रो। त्यसैले बाबू, बिहे त गर तर बाआमाका लागि होइन आफ्ना लागि गर।’ उनको कुरामा सत्यता त थियो नै तर मेरी आमाको दुःख र मेरा बाको छोरीप्रतिको मायाले पनि मलाई स्वास्नी बोकेर सहर डेरा लिन दिँदैनथ्यो। मैले हरि दाइको कु्रा काट्दै भन्थेँ, ‘आमालाई आमाको स्थानमा र स्वास्नीलाई स्वास्नीको स्थानमा राख्न सक्नुपर्छ दाइ। मिलाएर राख्ने कर्तव्य हामी छोरा र पतिको हो।’ उनी खिस्स हाँसेर मेरो कुरा काट्दै भन्थे, ‘हेरम्ला हामी पनि कसरी मिलाएर राख्ने होचस्।’

हरि दाइजस्ता धेरै थिए हाम्रो गाउँमा। जो बिहेका केही समय पछाडि नै स्वास्नी च्यापेर अर्कै चुलोमा आगो सल्काउँथे। अझ कस्तासम्म थिए भने, बाजेले बालाई दिएको या बाले जीवनभर पसिना बगाएर कमाएको सम्पत्तिबाट आफ्नो हिस्सा मागेर सहरमा स्वास्नीसँगै रमाउनेहरु त कति थिए कति। मेरो सोचाइ नै तिनीहरुभन्दा बेग्लै थियो, म मेरा बाआमासँगै रमाउन चाहन्थेँ। तर बाध्यता हरि दाइको जस्तै आउन सक्थ्यो, मिलाउँछु भन्दा झनै बाझिन सक्थ्यो।

मनमा बिहे गरेर आमालाई सुख दिने सपना एकातिर थियो भने अर्कोतिर स्वास्नीकै कारणले बाआमाको मनबाट अलग भइन्छ कि भन्ने डर। घरमा छिटो बिहे गर्ने भन्ने उर्दी सँगसँगै आवश्यकता पनि देखिएको थियो। तर अहिलेसम्म एकजना पनि त्यस्तो छोरो भेटाएको थिएन, जसले आमा र स्वास्नी दुबैलाई खुशीसँग राखेको होस्। आमा खुशी भए स्वास्नी बेखुशी, स्वास्नी खुशी भए आमा बेखुशी। बाआमासँग मिलेर बसेका छोरा बुहारी त झन गाउँमै थिएनन्।

पल्लो गाउँको सुमन घरको एक्लो छोरो थियो। बाआमाको प्यारो छोरो, चार बहिनी दिदी पछाडि जन्मेको कुल बचाउने बीउ। पढाइ, लवाइ–खवाइमा सुमनले जति मोज कस्ले गरे होला। सारै सोझो अनि इज्जतिलो सुमनले पनि बिहे पछाडि स्वास्नी टिपेर हाम्रै गाउँमा सानो बुकुरो हालेर बस्न थाल्यो। पल्लो गाउँमा उसका बाआमा गाइवस्तु हेरेर बस्न थाले यता सुमन स्वास्नी हेरेर बस्न थाल्यो। उसका बाले उसलाई गरेको माया भुलेछ भन्ने अड्कल हाम्ले काटिम् अनि बेला मौकामा उसलाई गाली गर्दा उसले जबाफ दिन्थ्यो, ‘बुहारी ल्याएर बाआमाले सुख पाउलान् भन्ने नसोचे हुन्छ। सक्दासम्म गर्छन्, नसकेपछि म हेर्छु भन्दै अलग बस्न थाल्या छु। बाँच्दासम्म पाल्छु, मरेपछि फाल्छु। मेरो कर्तव्य म भुल्दैन।’

हरेक विवाहित छोराले आमालाई सुख दिनुको साटो झन तनाव दिन्छन् भन्ने प्रमाणित हुँदै थियो। जसले पनि विवाह पछाडि बाआमालाई सँगै बसेर खुशी पार्न नसकेको कथाहरु सुनाउन थाले। म बिहे गरेर स्वास्नी टिपेर अर्कै चुलो बाल्ने पक्षमा थिइन। अनि एक जटिल निर्णय लिएँ। सोचे आमा र छोराको दुरी बढाउने यो बिहे नै गर्दैन। बाआमासँग खुशी साथ बस्छु तर अलग हुन बिहे नै गर्दिनँ।

साभार : सेतोपाटी
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment