एउटा प्रेम कथा : महाविर विश्वकर्मा

✍ महाविर विश्वकर्मा
 
घाम तलतिर ओर्लिन शुरु गरिसकेको थियो । अन्तिम पाइलो उक्लिएपछि आइपुग्यो झ्याम्म रुखको छहारी भएको देउराली । बोकेको ब्याग सहितै एउटा ढिस्कोको आडमा थ्याच्च बसेँ । बसेँ भन्दा नि, ब्याग सहितै उत्तानो पल्टिएँ । 

खुइइइयय गरेँ । टोपी खोलेँ र छेउमा राखेँ । आँखा चिम्म गरेँ । गोडा तिनिक्कै तन्काइदिएँ । चि....सो हावा चले जस्तो भयो । थकाईले गर्दा लामो लामो सास फेर्दै थिएँ । 

आँखा चिम्मै गरिरहेँ केहीबेर । अघि नै देखी लागेको तिर्खा मेटाउन अब चाहीँ अल्छि नगरुँ भन्ने लाग्यो । अनि जाँगर नभए पनि अल्छी मान्दै ब्याग खोलेर तुम्लेट झिकेँ । यसो हल्लाएँ, पानी केही रहेछ । बिर्को खोलेर मुख लगाएँ र घट घट पिएँ । ३ पटक जति पिएको हुँदो हुँ, पानी निख्रियो । यसो हल्लाएँ, सकिएकै रहेछ । घाँटी भिजाउन भने पाइयो भन्ने लाग्यो । 

ब्यागमा अडेस लागेर फेरी उत्तानो परेँ । चिसो बतास फेरी आयो एकझमट । आँखा चिम्म गरेँ । चराहरु चाइ चुइँ गरिरहेका थिए । 

सुसेल्न थालेँ, भुलिगए सम्झनालाई कुसुमे रुमाल, याद भए मायालु अर्को साल । सुसेल्दै सम्झिएँ, यात्रामा भेटेर यात्रामै छुटेकी एउटी केटी । उ भन्थी, 'सुसेल्दा अन्नको सह जान्छ' । जंगलमा त अन्नको सह जाने चिन्ता पनि भएन । झनै सुसेली रहेँ । उनलाई सम्झिरहेँ पनि । 

त्यति नै बेला खस्याक खस्याक आवाज आयो । कोही आउँदैछ भन्ने लाग्यो । आँखा खोलेँ । नभन्दै घाँसको भारी बोकेर एउटी केटी देउरालीमै आइपुगी र बिसाउँ कि नबिसाउँको दोधारमा परे झैँ अलमल गरि । त्यो तिमी थियौ । म प्वाक्क बोलिहालेँ, 'बिसाउनु बिसाउनु, थकाई लागेको होला' । 

फिस्स हाँस्यौ र बसे झैँ गर्दै घाँसको भारी रुखको फेदमा आड लगाएर बिसायौ । बिसाउँदा भारीले तिमीलाई पनि पछाडी तान्यो । सँगै नाम्लोले टाउकोमा राखेको पछ्यौरा पनि तान्यो । मैले रुमाल उपहार छोडेकी मगरनी केटी सम्झिएँ । उ पनि भारी बोक्दा यसैगरि टाउकोमा रुमाल राख्थी । तर धेरैबेर सम्झिनँ । किनकी आँखै अगाडी तिमी जो थियौ । 

नाम्लोले तानेको पछ्यौरा झिकेर मुख पुछ्यौ । म अन्तै हेरे झैँ गरिरहेँ, तिमीलाई अफ्ठ्यारो नलागोस् भनेर । तर आँखा मात्रै अन्तै जस्तो, ध्यान भने तिमीतिरै ।
बोल्न मन लागिहाल्यो । बोलिहालेँ, 'कस्तो गर्मी छ है' ? 

मुसुक्क हाँस्यौ । मुन्टो निहुरायौ । अनि हातको कचियाले भुइँतिर ठुँगीरह्यौ । 
 
'तपाईँलाई त खुब पसिना आउँदो रै छ', फेरी बोलेँ ।

फेरी मुसुक्क हाँस्यौ र पछ्यौराले अनुहारको पसिना पुछ्यौ । तिमी हाँसेको मनपर्यो । एकछिन चुप बसेँ । बतास सुस्तरी चल्यो, तिम्रो मौनता नबिथोल्ने गरि । चराहरुले चाइँचुइँ गरे, मेरो छटपटी झनै बढाउने गरि । 

यसो हेरेँ, तिमी उसैगरि कचियाले भुइँ ठुँगिरहेकी थियौ । मौका छोपेर एकटकले तिम्रो अनुहारमा हेरिरहेँ । नाकको टुप्पोमा पसिना देखेँ । अनि त के चाहियो, प्वाक्कै मुख फोरेँ, ''नाकको टुप्पोमा पसिना आउनेले त असाध्यै माया गर्ने लोग्ने पाउँछन् रे नि'' । 

यो पटक केही लामै हाँस्यौ र फेरी पछ्यौराले पुछ्यौ । तर अझै बोलिनौ । खसखस लागिरह्यो । सोधेँ, 'अनि एक्लै आउनुभाको घाँस काट्न' ? 

'हैन, साथीहरु पनि थिए' । भुइँ ठुँग्दै यति बोल्यौ । 

अनि खै त साथीहरु ? 

खै, घाँस खोज्दै-खोज्दै कता पो पुगे । 

यसपछि के सोध्ने भन्ने नै थाहा भएन । चुप बसेँ । आफै बोल्यौ, ''यही देउरालीमा भेट्ने कुरो थियो, आउँदै होलान्'' । 

फेरी दुबै चुपचाप । यो पाली तिमी बोल्यौ, 'तपाईँ कताबाट कता हिँडेको' ? 

भनेँ, 'बाटोबाट बाटैबाटो' । 

फिस्स हाँस्यौ । सोध्यौ - 'अनि बाटोले पुर्याउनुपर्ने ठाउँ पनि त होला नि' ? 

भनेँ - ''बाटो कहिल्यै टुंगिदैन भन्छन्, हिँड्दै जाउँ, जहाँ पुगिएला'' । 

टुंगियो भने ? 

यसैगरि बसुँला देउरालीमा, कुरेर तपाईँ जस्तै मान्छे । 

किन ?

बाटो सोध्न ।

सही बाटो बताएन भने नि ?

बाटो सँधै सही नै हुन्छ । कुरा यति मात्रै हो कि, हामीलाई पुग्नुपर्नेसम्म त्यो जान पनि सक्छ र नजान पनि । 

त्यै त, अर्कै बाटो भनिदियो भने नि । अलि हौसिँदै सोध्यौ । 

भारी बिसाएर खुइइयय गरे झैँ गरेँ र भनिदिएँ, 'मलाई पुग्नुपर्ने नै कहाँ छ र' ।

बाटै थाहा नभईकन पनि हिँड्छन् त । घुक्र्याए झैँ गरि बोल्यौ ।

भनिदिएँ - 'हिँड्नुपर्दो रहेछ' ।

कोही भेटिएनन् भने नि बाटामा ?

कुरेरै बसौँला, के बित्दो छ र ।

कुरा सुस्त सुस्त अन्तै मोडिँदैथ्यो ।
अघिसम्मको गाह्रो अब तोडिँदैथ्यो । ।
केही कुरा तिम्रो पनि थियो होला मनमा
केही सोध्यौ अनि केही मनमै छोडिँदैथ्यो । । ।

एक झोँका हावा चल्यो । चराहरु फेरी चाँइँ चुइँ गरे । तिमी भुइँतिर ठुँगिरहेकी नै थियौ । मलाई फेरी तिर्खा लाग्यो । छेउको तुम्लेट तानेँ । कस्तो भुलेछु, त्यो त अघि नै रित्तिसकेको थियो । तै पनि ठाडो घाँटी लगाएर टक्टक्याएँ । मुस्किलले एक तुर्को पानी आयो । त्यसपछि त थोपा थोपा पो चुहिन थाल्यो ।

यसले त झनै पो तिर्खा बढाए झैँ भयो । यताउति हेरेँ, कुनै उपाय देखिनँ । अनि तिमीलाई नै सोधेँ, यता खोल्चा, कुवा केही छैन ? तिमी जुरुक्क उठेर अलि उता गयौ । घारी भित्र पस्यौ । एकैछिनमा हातमा एउटा लहरा लिएर आयौ । दियौ मलाई । भन्यौ, ल पानी ।

म ट्वाल्ल परेँ । के जिस्किराको होला यो केटी भन्ने सोचेँ ।

'लिनु भन्या', भन्यौ ।

'हैन, के तालको केटी रै छ' भन्ने लाग्यो ।

फेरी त्यो लहरा म तिर तेसार्दै भन्यौ, 'लिनु के पानी' ।

'माया बस्ला है, धेरै नजिस्किनु' भनेँ । मनमा रिस जस्तो उठेपनि केटी न थियौ, कहाँ रिस देखाउनु । बरु छिल्लिनै मनलाग्यो ।

यो चुस्नु के, पानी आउँछ भन्यौ । फेरी थप्यौ, हामी त जंगलमा तिर्खा लाग्दा यही चुस्ने हो, यहाँ कहाँबाट पानी पाउनु ।

अब चाहीँ हो कि जस्तो लाग्यो । फेरी एक मनले सोँच्यो, के थाहा जंगलको बीचमा विषको लहरा चुसाउन पो लागेकी हो की यसले ।झोलामा भएको चिजबिज गुटमुट्याउँला भन्ने पो सोँचिकी ।
'ह्या...के सोँचिराको हौ, छिटो चुस्नु, अहिले सुक्छ'', उसले भनी ।
आ...जे त होस्, यस्तो बेला विश्वास भन्दा ठुलो केही हुन्न भन्ने लाग्यो । अनि त्यो लहरा लिएँ र चुसेँ । नभन्दै मुखभरि पानी आयो । अलि टर्रो टर्रो जस्तो पानी । जे होस्, प्याकप्याक्ती अवस्थाबाट मुक्ति मिल्यो ।
अनि सोधेँ, यसको नाम चाहीँ के हो नि ?
भन्यौ, काली लहरा । यसो नियालेर हेरेँ, चिनिराखे यात्रामा काम लाग्छ भनेर । अनि फेरी चुसेँ एक झमट । घुटुक्क रस निलेँ । यतिन्जेल तिमी पहिलेकै ठाउँमा गएर बसिसकेकी थियौ । अब चाहीँ कचियाले भुइँ ठुँग्न छोड्यौ ।
तपाईँको चाहीँ घर कहाँ हो नि ? मैले सोधेँ । हातले अलि पर देखाउँदै , उ त्यो गाउँमा भन्यौ । यसो हेरेँ, अलि प...र एउटा खोलाको पारीपट्टी डाँडामा झुरुप्प घरहरु थिए ।
तपाईँ तामाङ्नी हो ? लगभग हो भन्ने अड्कल गरेरै सोधिदिएँ ।

हो भन्यौ ।

अनि कुरा गर्ने मेसो मिले जस्तो लाग्यो र सोधेँ, यो देउरालीलाई तपाईँको भाषामा के भन्छ ?

भन्यौ - ज्योमो घाङ ।
ए...भनेँ । आफै बोल्यौ, 'ज्योमो घाङ भनेको देउराली डाँडा हो' ।
मलाई जिस्किन मन लाग्यो । सोधेँ - 'मलाई तिमी मनपर्यो भन्न चाहीँ के भन्छ नि ?'
मुसुक्क हाँस्यौ, उसैगरि । अघि जस्तै मनपर्यो मलाई ।
भुइँतिर हेर्दैै भन्यौ - 'ङादा ए सेम ताजी' ।
मैले दोहोर्याएँ, ङादा ए सेम ताजी ।
खासमा तिमीलाई सुनाउनु जो थियो । तिमी झनै मुसुमुसु हाँस्दै भुइँतिर हेरिरह्यौ । मलाई मज्जा लाग्यो ।
घाम बिस्तारै ओर्लिँदै थियो, डुब्ने ठाउँतिर । अब हिँड्नुपर्छ भन्ने लाग्यो । तर मन सँधै तिमीसँगै बसुँ भन्ने लाग्न थालिसकेको थियो । त्यति थोरै समयमा यति विधि आकर्षण ? आफैप्रति शंका जस्तो भएर आयो ।
'अब हिँड्नुपर्छ' भनेँ । तिमी बोलिनौ ।
'मसँगै जान्छौ ?' भन्न के भन्छ तिम्रो भाषामा ? ब्यागमा अडेस लगाएरै सोधेँ ।

'एनुन ङा देन छ्याम् निबा ?' यति बोल्यौ । अनि चुप बस्यौ । मैले बिस्तारै दोहोर्याएँ - 'एनुन ङा देन छ्याम् निबा' ?
तिमीले शंकालु नजरले मलाई हेर्यौ । मैले अन्तै हेरेँ । अनि तुम्लेट ब्याग भित्र हालेर चेन लगाएँ । उठाएँ ब्याग र बोकेँ ।
म पछिसम्म पनि सँधै सम्झिरहनेछु तिमीलाई भन्न के भन्छ ? सानो बच्चा जस्तै भएर सोधेँ ।
भन्यौ - 'ङा एदा लिच्छा धोनान् ढान्सीटिला' ।
यो पनि दोहोर्याएँ उसैगरि, 'ङा एदा लिच्छा धोनान् ढान्सीटिला' ।
मनको मान्छेसँग छुट्टिँनु परे जस्तै भइदियो अवस्था । अलि खल्लो खल्लो लाग्यो । केही प्रिय वस्तु हराउन लागे जस्तै भयो । तिमीलाई हेरेँ, उसैगरि कचियाले भुइँ ठुँग्दै थियौ । एकछिन हेरिरहेँ, तिमीले ठुँगेकी भुइँमा केही थोपा पर्यो । मलाई यति बुझ्न कुनै गाह्रो भएन कि, ती थोपा तिम्रै आँखाबाट खसेका थिए । सोँचेँ, धत् म त हिँडिरहने मान्छे, यस्तो आकर्षण त भइहाल्छ नि बेलाबेला तर यसैलाई प्रेम कसरी भन्नु ।
अन्तिम पटक थर्थराउँदै सोधेँ - नमरी बाँचे, कुनै दिन भेट होला भन्न के भन्छ ?
भुइँ ठुंग्दै सुँक्क गर्यौ र भन्यौ, 'आसिना सोसाम् तिरे ह्रुपताला' ।
अनि यो चाहीँ तिमीले सुन्ने गरि दोहोर्याएँ मैले, ''आसिना सोसाम् तिरे ह्रुपताला, आसिना सोसाम् तिरे ह्रुपताला'' ।
यति नै बेला तिम्रा साथीहरु हल्ला गर्दै आउँदै थिए, म पछाडी नहेरी अघि बढेँ । 

केही शंका थियो, केही डर थियो ।
अनि मनमा केही बेग्लै रहर थियो ।।
तिमी त कलकलाउँदी फूल जस्तै थियौ
तर मेरो जीवन लगभग बगर थियो ।। 
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment