कथा – हेमन्त, ऋतु र तीज

मतानको छेउमा फ्यात्त हलो भुइँमा फ्याँकेर आरुबोटे काका घरतिर आए । जुठेल्नाका छेउमा भाँडा माझ्दै गरेकी छोरीलाई भने ए चमेली जा भित्रबाट चिसो पानी लेर आ ।
टोपीले पसिना पुछ्दै बसिराथे । चमेलीले मैलो जगमा पानी ल्याएर दिई ।
काका जंगिए – के हो यो जग माझ्न सकिनस् ?
चमेली चुप् ! 
खै हेमने कहाँ मुन्ट्यो ? (हेमन्तलाई सजिलोको लागि हेमने भनेर बोलाउँथे) बाख्रा कराउँदैछन् त । गोठालो जाने बेला भएन रे ?
चमेली – दाइ त माथी कोठामा बसिराछ रेडियो घन्कार ।
काका कराउन थाले – ए मालिक ! बस्तु फुकाउने बेला भएन ? कामकाज छैन एउटा रेडियो भिर्‍याे, गाउँ घुम्यो, क्यारेमबोड खेलो हल्लियो । पैसा जति बेटारी किनेरै सक्ने भो । यसो समाचार आउँदापो बजाउनु त चौबिसै घण्टा औंरेजी समचार पनि बजाकै छ हिन्दी गाना पनि बजाकै छ । अरु बेला त स्कुल जान्छ कम्सेकम शन्सरबार त सघाउनुपर्छ घरमा ।
बूढा के के भन्दै फलाक्दै थिए । हेमन्त चुपचाप काँधमा रेडियो र कम्मरमा बाँसुरी भिरेर लाग्यो गोठालो ।
फेरि त्यो बलेम्पाको खेतमा बस्तु छोडिदिएर बाली खुवाएर आइज अनि आफैं हलि बस्न जालास् । म सक्दिन एकदम बिगो तिर्न । काका फेरि कराए !
उ सुनेको नसुनेझैँ गरि गाईबाख्रा लगेर बाघमारे पाखामा छोडिदियो र चिलाउनेका ठूटामा बसेर बाँसुरी बजाउन थाल्यो ।
एकछिन रोकिएको थियो अलिक माथीतिर एउटा गीत सुनियो वारि जमुना पारी जमुना जमुनाको फेदैमा मनकामना ।
प्रष्टै थाहा भो यो ऋतुनै हो । तर कहाँ छे ? 
यताउता हेर्‍यो कतै देखेन । अलिक माथी खेतका छेउमा नास्पातीको रुख हल्लिएको देख्यो । मज्जाले हेर्‍यो पहेँलो भेस्ट र कालो फ्रक लगाएकी ऋतुलाई चिनिहाल्यो । आँखा साना साना भए पनि परेला निक्कै काला भएकाले ऋतुको नामनै गाजली राखिदिएका थिए साथीहरुले ।
गाजले खरायो रुख चढेछ अचम्मै भो हौ भन्दै जिस्क्याउँदै हेमन्त त्यहीँ पुग्यो ।
जे पायो त्यही चाहिँ नभन् है । अहिले मार्दिम्ला नि । अनि अलिक परै बस् यो नास्पातीको रुख नछुनु स्या लाग्न सक्छ ।
स्या लागेर के भो त ? कर्द, खुकुरी, बन्दुक नलागे भैगो नि जिस्क्यायो हेमन्तले ।
ऋतुले भनी पिसाद लाग्ला भनेकोहौ राईहरुले स्या भन्छ के, बाहुन कति जिस्की रहेको ।
यी कुरालाई वास्तै नगरी हेमन्त बोल्यो ओए रिते मलाई नि देन नास्पाती एक्लै खान्छेस् ?
दिन्न ! मलाईनै जिस्क्याउँछस् मैलेनै तँलाई नास्पाती दिन पर्ने ?
यत्तिकैमा माथी नास्पाती टिप्दै गरेकि ऋतुलाई भुइँबाट हेमन्तले जिस्क्यायो ।
ऋतु रिसाइ । 
कस्सिएर नास्पातीको दानाले टाउकामा हानी । हेमन्त त्यहीँ लड्यो एकछिन बेहोश जस्तै भयो ।
ऋतु डराई हतार हतार भुइँमा झरी हेमन ! ओई हेमन !
हेमन्त बोलेन । झन् डराई
ला..... अब के गर्ने ? के भयो यस्लाई ? नजिकै खेतको एक अञ्जुली पानी ल्याएर छ्यापिदिई ।
आच्छु हि हि गर्दै हेमन्तले ङिच्च दाँत देखायो ।
ऋतुले रिसाउँदै भनी साले बाहुन नाटक गर्नुपर्छ ? कस्तो डर लागेको ।
तँलाई चाहिँ जिस्कनै नहुने त्यत्रो नास्पातीले हान्न पर्छ ? म मरेको भए ? अनि एकछिन घुक्र्याकोनी ।
हेमन्तको कुरा सुनेपछी मुस्कुराउदै बोली बम हो र नास्पाती लाग्ने बित्तिकै मर्नलाई ? अनि तँलाई तल बसेर जे पायो त्यही भन्न पर्छ त ?
हेमन्त फेरिपनि जिस्किँदै थियो ।
चुप ! ला खा नास्पाती । हतार हतार गरेर भुइँमा झर्दा रुख हल्लिएर झरेका तीन दाना नास्पाती बटुलेर दिई । एउटा आफैंले टोकि कर्याप्प .... ।
यत्तिकैमा ऋतुका आँखा पुगे ठूल्ढुङ्गाको पुछार बारीमा जहाँ हेमन्तको सिँदुरी गाई र दार्मे गोरुले एकगरो मकै त खल्र्याप्पै भ्याइसकेछन् । दुई चार बोट बाँकी थिए । 
ऋतुले आत्तिँदै भनी ओए पर हेर त तेरो गाई गोरुले मकै सकेछ । मास्तिर नाना घाँस काट्दैछ । देख्यो भने आपालाई कहिदिन्छ छिटोजा ।
हेमन्त आत्तिदै गएर त्यहाँ बाट गाईगोरु निकाल्यो र उत्तिसे तिर बस्तु लिएर गयो ।
मनभरी कुरा खेलाइरह्यो यो कुरा बुवालाई थाहा भयो भने मार्नुहुन्छ । उस्लाई बलेम्पाको भन्दा बढि डर आफ्नै बुवाको थियो । गाईबाख्रा सबै बाँध्यो र चमेली लाई सोध्यो कान्छी बुवा खै ?
कुलो भत्केकोछ रे बनाउन जानू भा छ ।
चमेलीको जवाफ सुन्ने बित्तिकै भन्यो कान्छी बुवा ढिला आउनुभयो भने गाई दुहुँनु है । म पनि आउन अलिक ढिला हुन्छ होला हरि दाईले खै किन हो बोलाउनु भाछ भनेर क्यारिमबोर्ड खेल्न गयो ।
हेमन्त घर आयो बुवा र बहिनी खाना खादै थिए ।
कहाँ गाथिस ? बस भात खान । बुवाले यति भनेपछी खाना खायो र कोठामा सुत्न गयो ।
उज्यालो भो गाउँमा हल्ला चल्यो बलेम्पाका मकैमा कस्ले बस्तु छोडिदिएछ खल्र्याप्पै बनाइदिएछन् । बलेम्पा पनि रिसले चुर भए खोजी जारी रह्यो । तर कस्का बस्तुले खायो जति हल्ली खल्ली गरेपनि पत्तै भएन । यो कुरा यत्तिकै सकियो हप्ता दिन बित्यो ।
अनेक कुराहरु खेलिरहने हेमन्तको मनमा आज अलिक नौलो कुरा खेल्यो । राईनी छुच्ची छे तर कति ईमान्दार, कति राम्री, बाझ्छे, जे पायो त्यही भन्छे फेरि मेरै गल्तिहरु लुकाईदिन्छे के यो माया हो ? मन एकोहोरियो । मन लाग्यो झन् नजिक हुन । के के सोच्यो र यसरी रङ्ग्यायो साधा कागज ।
ऋतु !
भन्नू खासै केही छैन । र पनि तँलाई केही लेखेर पठाउन मन लाग्यो । खै किन किन अचेल तेरो मात्र याद आउँछ । मनमा त तँ त्यतिबेलै देखि पलेटी कसेर बसेकी होस् जतिबेला साकेलामा सँगै नाचेका थियौं । तैंले चिन्डो बाट मेरो टाउकोमा जाँड छर्की दिएकी थिईस्, मैले गाला चिमोट्दिएको थिएँ, तैंले झापट हानेकी थिईस्, म रिसाएझैँ गरेको थिएँ, अनि सरि भनेकि थिईस् । त्यहाँ पछिका प्रत्येक क्रियाकलाप आगोमा घ्यू बने तँ प्रती आकर्षण हुनलाई । कुरा यत्ति हो, थाहै नपाई तँलाई माया गर्न थालेछु । के तँलाई पनि यस्तो केही महसुस हुन्छ ? हुन्छ भने पनि हुन्न भने पनि ऋतु एक पटक जवाफ पठा ल । चिठिको जवाफ लेखिस् भने यो चिठी पाएको भोलि पल्ट नास्पातीको रुख मुन्तिर चिलाउनेको ठूलो रुख छनि हो त्यसैको फेदमा दर्शिन ढुंगाले छोपेर राख्नु ल । आज लाई यत्ती । बाँकी जवाफ पठाईस् भने ल ।
उही माया गर्न थालेको मान्छे हेमन्त ।
चिठी त लेख्यो तर दिने कसरी ? सोच्यो कमल लाई दिन पठाउँछु । फेरि सोच्यो हैट त्यो साले शैतानछ आफैं आँखा लगाइराखेको छ । च्यातेर फ्यालिदिन सक्छ । च्यातिफाले मात्र त ठिकै हो फेरि आफैंले अर्को लेखिपठायो भने...?
हैट ! आफैं दिन्छु । अनेक कुराहरु सोच्दै कोल्टे फर्कदा फर्कदै भुसुक्कै निदाएछ ।
उठेर गाई दुहुँदै थियो , चमेलीले भनी दाइ बुवाले भन्नुभको केराबारी जा रे ।
किन ? कस्कोमा ? 
अस्ति भैंसी लगेको पैसा बाँकि छ रे नौ हजार आज दिने भनेको छ रे मूलघरेले ।
हेमन्तलाई के खोज्छस् कानो आँखो भने झैँ भयो । मूलघरे भनेको ऋतुकै पल्लो घर हो ।
मूलघरेको घर पुग्नु भन्दा पहिला बलेम्पाकै घर आउँछ । बूढा खाटमा बसेर चुरोट तानिरहेका थिए हेमन्त लाई देख्ने बित्तिकै सोधे
बाबू तिमी साईला पुरेत को छोरा हैन ?
हो त तिप्पा
अनि कता हिन्यौको बाबू ?
मूलघरे तिप्पाकोमा हिंडेको । तिप्पाले पैसा लिन बोलाउनु भाथ्यो र ।
ए जाउ–जाउ घरमै होला अहिले भर्खर यहाँ बात मारेर गाको ।
अरु खै त तिप्पा तपाईं एक्लै हो घरमा ?
खै बाबू, मेलो तिर पो छ हौ सबै म बूढो चाहिँ घर रुँङ्दै बसेको नि ।
हेमन्तले गोजिमा चिठी छाम्दै यताउता हेर्यो ऋतु कतै देखेन र लाग्यो मूलघरेको तिर । बूढा घरमै रछन् हेमन्तलाई देख्ने बित्तिकै कुरा बुझीहाले र भने ए बाबू तिमी आयौ ? ल बस ।
मूलघरे बूढीले सोधिन् बाबू छ्याङ बनाईदिउँ खान्छौ ?
हेमन्त –खान्न तिम्मा ।
मूलघरे बूढाले छ हजार दिँदै भने बाबु तीन हजार पुगेन सोमबार म आफै ल्याईदिन्छु आपालाई यहि भन्नू है ।
हुन्छ तिप्पा भनेर हेमन्त पैसा लिएर फर्कदै थियो । घाँस बोकेर आउँदै गरेकी केटिसँग जम्काभेट भो ।
ओ बाहुन कता ? ऋतु रैछे जिस्क्याईहाली ।
देखि भेटीरहेकै केटी भएनी आज हेमन्त झसङ्ग भयो । मुटु फुत्केला झैँ भयो जस्लाई उ चिठी दिन तड्पिरहेको थियो ।
र भन्यो के को बाहुन बाहुननी मेरो नाम छैन ? खाली बाहुन नभन है ।
ऋतुले हाँस्दै भनी हेर हेर रिसाको । अस्ति त खुब किराँत्नी किर्वुई भन्दै थिइस् त ।
हेमन्तले चिठि थपक्क हातमा राख्दै भन्यो ल ल अब चुप लाग । यो एक्लै पढ्नु ।
के हो यो ? ऋतु सोद्धै थिई मनकामना बाट आएको सन्देशहो यो एक्लै पढ्नु पर्छ भनेर जिस्क्याउदै हेमन्त टाप कस्यो ।
ऋतुले घर पुगेर घाँस बिसाउने बित्तिकै हेरि छक्क परि । चिट चिट पसिना आए । फेरि पढी । भएन हतार हतार आफू पढ्ने सुत्ने कोठामा छिरी र फेरि पढी । ऐना हेरि आफूलाई आफू जस्तै लागेन । फेरि पढ्दै थिई आमा भान्सा बाट कराईन ऋतु ए ऋतु खाना खानु आइज आपा, नाना, खुशे लाई नि बोला ।
खाना खाएको पनि पत्तै भएन । के गरौं ? कसो गरौं ? के भनौं ? के कसरी जवाफ दिउँ । किनकी उ पनि मन पराउँथी भन्न सकेकी थिइन । एक्कासी मनमा सुनामी आयो..... पिरतिको ।
यता हेमन्तलाई खुल्दुली भयो के गर्ली ? गाली गर्ने पो हो कि ! उसको आपा दाइहरुलाई भन्ने पो हो कि ? चिठी लेखी भने के लेख्ली ? के माया गर्ली त ? फेरि एक्लै बोल्यो केटिले पारा ल्याउली त ? र एक्लै मुस्कुरायो अँध्यारोमा । कुरा खेलाउदा खेलाउदै निदाएछ । 
ब्युँझदा घाम माथी आइसकेको रहेछ । आज बुवाले नि बोलाएनन् न चमेलीले बोलाई । हेमन्त उठ्यो र यता उता साना तिना घरायसी कामहरु ग¥यो । मनको खुल्दुली मेटाउन हतार भो । ऋतुले नास्पातीको रुख मुन्तिर ठूलो चिलाउनेको रुख छेउमा दर्शिन ढुङ्गाले चिठी छोपिकी छोपिन होला ?
सरासरी गयो आफूले बताएको ठाउँ तिर हेर्‍यो केही देखेन । अलिक पर चल्ला काड्न पोथी ओथारा बसेझैँ दर्शिन ढुंगो सेतो कागज छोपेर बसिरहेको देख्यो । मुटु फुत्त बाहिर हाम्फाल्ला जस्तै भो । ढुंगो हटायो कागज समायो । टक्क अडियो एकछिन र खोल्न शुरु गर्‍यो । फेरि सोच्यो घरमै गएर पढ्छु । चिठी गोजिमा हाल्यो र लाग्यो घरतिर ।
हेमन्त !
कहाँ बाट सुरु गरौं लेख्न । आफूलाई त चिठि लेख्न नि आउन्न । चिठि पढेर मनमा डर, लाज, मायाको एकै पटक भुइँचालो गएकोछ । म भेट्न चाहान्छु । शनिबार बस्तु यतै ल्याउनु । त्यतै भेटेर कुरा गरौंला ल ।
घरमा आएपछी खोलेर पढेको कागजमा जम्मा यत्तिनै थियो । तर धेरै थोक भयो हेमन्तको लागि । हिसाब गर्‍यो आज बिहिबार पर्सि शनिबार । सोच्यो किन अर्कै स्कुल जान परेको त्यस्लाई ? एउटै स्कुल भए दिनै पिच्छे भेट्न त पाइन्थ्यो । भेट्नलाई पनि शनिबारनै पर्खन पर्ने भो । आखिर क्लास् पनि बराबरि छौँ । फेरि सोच्यो हुनत ठिकै भयो । हाम्रा स्कुलमा भएकी भए त्यो अरुणे, इन्द्रे, रमेशे जस्ताले मलाई कहाँ गरिखान दिन्थे..... लाग्यो स्कुल तिर ।
शनिबार पधेँरामा नुहाएर आयो घर भित्रै पस्ने बित्तिकै चमेलीले भनी दाइ आज गाउँलेहरु सबै मिलेर चमेरे भञ्ज्याङमा पोखरी खन्ने रे घरको एकजना जानू पर्ने रे । बुवाले भन्नुभको तँ जा रे । म गोठालो जानु रे ?
हेमन्त अक्क न बक्क भयो एकछिन र सोध्यो, बुवा खोइ ?
माथ्लो गाउँमा घिमिरे बा बित्नु भो रे बुवा उतै जानु भो ।
मलामी गएका बूढा अब साँझ नपरी आउने हैनन् भन्ने अनुमान ग¥यो र हेमन्तले भन्यो –कान्छी आज मेरो धेरै ढाड दुखेको छ । पोखरी खन्न तँ जा गोठालो म जान्छु ।
चमेली – अँ..खुव छोरी मान्छे गएर हुन्छ होला नि ।
हेमन्त – हुन्छ के गएर यता उता सकेको सघाउने त हो । मान्छे नभए पछि मर्नु भएन त । चमेली मानी हेमन्त खुसी हुँदै गाईबाख्रा फुकाएर लाग्यो गोठालो ।
पहिला जस्तै गाईबाख्रा लगेर छोडिदियो र ढुंगा माथी बसेर माथी तिर हेर्‍यो ऋतु कतै देखेन । रेडियो खोल्यो सुन्न मन लागेन बन्द गर्‍यो । फेरि माथी आँखा तन्कायो यति बेला भने डोको बोकेर घाँस काट्न आउँदै थिई ऋतु । उस्ले छरपस्ट भएका गाईबाख्रा एकै ठाउँ भेला गर्‍यो र हस्याङफस्याङ गर्दै लाग्यो नास्पातीको रुखतिर ।
ढिला गरिस् त ।
हेमन्तको कुरा सुन्नेबित्तिकै ऋतुले भनी खास त आउँनै अप्ठ्यारो लागिराथ्यो तर ......
तर के ?
 केही हैन ।
के साँच्चै माया गर्छस ?
तँलाई के लाग्छ ? मैले चुट्किला लेखेर पठाएको ?
हा हा ऋतु हाँसी मात्र ।
हेमन्त बोल्यो के तँलाई माया लाग्दैन र ?
लाग्छ तर लागेर के गर्नु ?
लागेर माया गर्नु नि के गर्नु भन्नू । हा हा ।।।
तँ बाहुन, म किराँती यो कसरी सम्भव छ ?
 मायाको जात हुन्छ र ? विश्वासका सामु असम्भव के छ ?
समाजले छुट्याउँछ नि त ।
हाम्ले अपराध गरेको हो र ?
कहिले सम्म माया गर्न सक्छस् ?
शास छउन्जेल ।
मरेपछी गर्दैनस ?
थाहा छैन ।
दुबैजना हा हा हा .....
कुरा गर्दागर्दै दुई घण्टा बितेको पत्तै भएन । स्यार्रर गरेर पानी प¥यो । ऋतु झसँङ्ग भई र भनी ला... डोको रित्तैछ घाँस काटेको छैन । घर कसरी जाने अनि उकालो दगुर्दै भनी तँ पनि जा छिटो । ओढ्ने रैनछ भिज्छस् ।
हुन्छ भनेर हेमन्त ओरालो हानियो । धन्न आज गाई गोरुले कसैको बाली खाईदिएनछन् । एक्लै मुस्कुरायो र सबै बस्तु भेला गरेर घर तिर कुदायो ।
मायाको रफ्तार बढ्यो । चिठी बाक्लै ओहोर दोहोर हुन थाले । भेट घाट बाक्लिन थाल्यो । दुबैका लागि यो पृथ्वी मायाकै खम्बामा अडिएको अनुभूति हुन थाल्यो । खाएको, कतै नजिकै गएको, आफ्नो स्कुलतिर भएको भनौं स–साना घटनाहरु, स–साना कुराहरु पनि एकर्कामा शेयर हुन थाले । हामीले पढेका शेक्स्पियरका रोमियो जुलिएट, देवकोटाका मुनामदन भन्दा निक्कै माथीको प्रेम जस्तो प्रगाढ हुन थाल्यो । दुबै जना हरेक पल एक अर्काकै कल्पनामा समर्पित हुन थाले ।
हेमन !
तँ भोलि आरुटार जा र फुपुलाई लिएर आइज । पोहोरको तिजमा पनि जुठो प¥यो भनेर आईन । यस्पाली त जसरी नि लिएर आइज । खाना खाँदा खाँदै बुवाको कुरा सुनेर हेमन्त थोरै खुशी भयो । किनकी आफू आठ बर्षको हुँदा आमा खसे पछी आफूलाई आमा जस्तै लाग्ने उनै फुपू थिईन् । असाध्यै माया गर्थिन दाजु बहिनीलाई नै ।
हुन्छ बुवा भन्यो र खाना खाइसकेर कोठा तिर गयो । रेडियो खोल्यो ।
गीत बज्यो – झन् माथी सार्‍यो झन् तल झर्छ हाई मेरो फरिया....
तीजको गीत बजिरहेको रहेछ । एक्लै हाँस्यो र मनमनै भन्यो त्यस्का बाजे तीजको गीत हो कि रत्यौलीको ठट्यौली ?
सोच्यो आरुटार फूपू लिन जाने खबर ऋतुलाई भनौं ।
फोन थिएन त्यसैले रेडियोको भोलुम घटायो र लेख्यो ।
प्रिय ऋतु ।
मुटु भरीको माया ।
आज धेरै केही लेख्दिन । तीजको लागि म फूपू लिन आरुटार जाँदैछु शनिबार म गोठालो आउँदिन है । अब सोमबार मात्र फर्कन्छु फूपू लिएर ।
र लेख्यो –हे बिजुलीको तार तार तार ऋतु तिम्लाई भेटौँला अर्को शनिबार । थप्यो हा हा.....।
बाँकि आएर लेखौँला, भेटौंला आजलाई यत्ती ।
लब यु !
उही तिम्रो काले बाहुन ।
बिहानै लगेर ठूलो चिलाउनेको रुख नजिकै दर्शिन ढुङ्गाले छोपिदियो र फर्केर खाना खायो अनि छाता बोकेर लाग्यो आरुटार तिर ।
यता ऋतुले चिठी हेरि र उफ्फ गरि । अचेल दिनै पिच्छे चिठी दिने लिने आदत जो परेकोछ । बरु घरमै भएर हप्ता दिननै चिठी नआए र नभेटे पनि त्यति साह्रो हुन्न थियो होला घरमा नहुने भने पछी चार दिन पनि चार बर्ष जस्तो लाग्यो ।
मंगलबार आठ बजेतिर ठूलो चिलाउने नजिकै गई दर्शिन ढुंगो एक्लै सुतिरहेको रहेछ । फरक्क फर्केर खाना खाई र स्कुल गई ।
साँझमा गएर फेरि हेरि ढुङ्गा एक्लैछ । फर्केर आई खाना खाएर पढ्न बसि । अर्थशास्त्रको नोट बनाउदै थिइ । कलम भरी हेमन्त दौडिरह्यो पाना भरी हेमन्तनै छरपस्टभो । दिक्क लाग्यो झ्याप्प बत्ती मारी र सुति । मनमा कुरा खेल्न थाले आउने बित्तिकै चिठी लेख्नु पर्ने किन लेखेन ? कि आएन ? उसको बारे कुरा गरौं पनि को सँग गरौं ? मनले सोच्यो बिहान घर तिरै जाउँ फेरि लाग्यो काम बेगर कसरी जाउँ ? कसैले सोधे किन आएको भन्ने ? अनेक सोच्दा सोच्दै भुसुक्क निदाई ।
जुठेल्नाको छेउमा भाँडा माझ्दै थिई घर माथीको पिपल गल्र्याम्म ढल्यो । आम्मा ! भनेर चिच्याई । सपना रहेछ जुरुक्क उठि लामो श्वास फेरि । बाहिर पानी सरर परिरहेको रहेछ । केराका पात बजिरहेका थिए । टिनको छानो उसैगरी बजिरहेको थियो । तीन चार घुट्की पानी पिई र फेरि सुति ।
रिते.. हन तेरो उठ्ने बेला भएन ? कति सुत्नुपरेको हँ ? आमाको आवाज सुनेर उठि । पानी पर्न छोडी सकेको रहेछ । पधेरा बाट एक गाग्री पानी लेई र फेरि गई ठूलो चिलाउनेको रुख नजिकै । दर्शिन ढुंगो हेरि उसैगरी सुतिरहेको रहेछ । फरक्क फर्की र फेरि स्कुल गई ।
मनमा हेमन्त नाचिरह्यो । किन निराश हँ ? बिरामी छेस ? बिनिताको प्रश्नलाई जवाफ दिदै भनी केही भा छैन ।
दिनभर मुडअफ भईरह्यो सरहरुले के के पढाए खासै हेक्का रहेन । स्कुल बाट फर्की र किताब कोठामा फ्यात्त फ्याकेर ठूलो चिलाउने तिर लागि ।
दर्शिन ढुंगो पल्टाई उस्तै खाली ठाउँ । अब त्यही ढुंगो देखि रिस उठ्यो रिसले आगो भई । बरर आँसु झारी र दर्शिन ढुंगोलाई एक लात्ती दिएर अलिक तल झार्दी अनि फर्की घर तिर ।
कोठामा गएर घोरिएर अस्तिको चिठी पढ्दै थिई । आमाले भनिन् ए रिते तरकारी काटेर ठिक्क पारेको छ आइज र पकात मलाई के भएर टाउको दुख्यो ।
मन त थिएन खानलाई नखाए पनि पकाउन त नाई भन्न भएन आमाले भनेपछी । लागि भान्सा तिर र पकाउन थाली ।
बलेम्पा बुढा भैंसीलाई दाम्लो बाट्दै थिए । यत्तिकैमा बूढाले भने –ओई जेठा रेडियो खोल्न सात बजिसकेछ समचार सकिन लागिसक्यो होला । सात बजेर चार मिनेट गैसकेको रहेछ । बलेले रेडियो खोल्यो र रुपाकोट एफ एम लगायो ।
रेडियो बज्यो –तपाईं अहिले सुन्दै हुनुहुन्छ रुपाकोट सामुदायिक रेडियो १०५ मेघाहर्ज । भर्खरै प्राप्त समचार अनुसार अबिरल बर्षाका कारण साप्सुखोलामा आएको बाढीले आज दिउँसो बगाएका दुईजना मानिसलाई भण्डारेघाटमा उतारिएकोछ । मृत्यु हुनेमा आरुटार तीन कि महिला, बर्ष छत्तिसकि पार्वती अधिकारी र रानीपुर सातका युवक, बर्ष सोह्रका हेमन्त भट्टराई रहेको पुष्टि भएकोछ ।
बलेम्पा बूढा बाट्दै गरेको दाम्लो फुत्त छोडेर के रे ! के रे ! भन्दै थिए । अगेना बाट तरकारी निकाल्दै गरेकी ऋतुले समातेको कराई फुत्तै छोडिदिई र आफू भुक्लुक्कै त्यहीँ ढली ।
तरकारी अगेनामा घोप्टियो झ्वाँई गर्‍याे । 
- लेख कार्की @lekhkarki1
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment