कस्तो छ नेपाली गजलको अवस्था ?



- अन्जान स्नेहा


जबदेखि आधुनिक नेपाली गजलको प्रारम्भ भयो वा ज्ञानुवाकर पौडेलले लामो समयसम्म निदाएको शाश्त्रीय गजललाई पूर्नजागरण गर्ने काम गरे त्यस दशक(२०३५) देखि सत्तरीको दशकसम्म आइपुग्दा नेपाली गजलले विस्तारै आफनो पहिचान बनाउन लागेको अवस्था देखिन्छ । ज्ञानुवाकर पौडेलले छन्द, वहर र लयको अनिबार्यताको साघँरो सोचलाई भत्काई गजललाई कवितात्मक बनाए । यस काल खण्डमा मनु ब्रजाकी,बुँद राना,ललिजन रावलले पनि आधुनिक नेपाली गजलको विकासमा योगदान दिएको यथार्थलाई स्वीकार्न कर लाग्छ ।

तर अहिले सम्म एक शताब्दी को अवस्थामा पनि नेपालि गजलले आपनो स्पष्ट बाटो र पहिचान बनाउन नसकेको हो कि जस्तो पनि लागेको छ । केहि मित्रहरु बडा गजबका साथ भन्छन नेपालमा सबै भन्दा बढि लेखिने र पढिने विधा हो गजल ।निसन्धेय पनि सबै भन्दा बढि लेखिने विधा त हो तर सबै भन्दा कम पढिने विधा पनि गजल हो यसमा कुनै संका छैन । निसन्धेय पनि गजल लेखि टोपल्ने स्रष्टा धेरै छन तर गजल लेख्ने स्रष्टा धेरै हुदैमा गजलको विकास भएको मान्न सकिन्छ त ?कुनै पनि साहित्यको विकास र सम्वृदिको मापन आधार के?त्यसमा सम्मिलित जनाधार कि,त्यसले समाजमा पारेको प्रभाव र त्यसले उठाएको विषय ?लामो समय मोतिराम भट्ठ र भिम निधि तिवारिका शाश्त्रीय सुत्रमा गजल लेखियो,र हिजो आज ज्ञानुवाकर र मनु व्रजाकि जसरिे स्वतन्त्र र मुक्त भएर गजल लेखिदै आएको छ ।कोहि कोहि अझँै पनि शाश्त्रीय सुत्रमा गजल लेख्दै आइरहेका छन। पुरा एक शताब्दी समय गजलमा विताउदा पनि किन गजल को अपेक्षित रुपमा विकास हुन सकिरहेको छैन त ?

साहित्यका अन्य विधामा झरोआन्दोलन ताना शर्माहरुले,आयामेलि आन्दोलन वैरागि काँईला,ईन्द्र ब. राई,ईश्वर बल्लभले,बुटपालिस आन्दोलन शैलेन्द्र साकारहरुले,राल्फा आन्दोलन पारिजात,मन्जुलहरुले,सिर्जनशिल अराजकता राजन मुकारुङ,हाङयुग अज्ञात,उपेन्द्र सुब्बा द्घारा आन्दोलन र बहस भइरहदाँ गजलकार भने लिपिस्टीक गजल लेखन र आत्मप्रचारमा लिप्त छन । हुन त विधा अनुसार आन्दोलनका आयामहरुमा पनि भिन्नता हुन्छन । र नेपालि गजलको मुक्तलेखन परम्परा पनि एउटा आन्दोलन थियो । तर हिजो गजलमा लय,छन्द,बहर को अनिवार्यता भन्दा विचार,दर्शन,चेतना र कलाको अनिवार्यता हुन जरुरि देख्ने मुक्तलेखन परम्पराका अगुवा हरु आज किन लय,छन्द,बहर र अक्षर गन्ने कुरा गर्दै छन?सोचनिय विषय हो?यिनिहरु सुनियोजित तरिकाले यथास्थितिवादी र पुरातनवादी चिन्तनले ग्रस्त मथिगंलबाट परिचालित भयको हुनु पर्छ । गजलमा उहि लय,छन्द,बहर भनि अक्षर गन्ने कि स्वतन्त्र भई लेख्ने भन्ने कुरामा नै धेरै बर्ष अघि देखि मतभेद हुदै आएको छ ?जसलाई बहस भन्न त मिल्दैन ।

गजलमा देखिएको अन्तरविरोध मध्ये सबै भन्दा पहिला हल गर्नु पर्ने विषय भनेको नै लय,छन्द,बहर कि आवश्यक विचार,दर्शन,चेतना,कला हो भन्ने कुरा हो ।अर्को पृथक आन्दोलन नेपालि गजलमा अश्लीलता अन्मुलन अभियान २०६६ वर्दियाका युवा गजलकारहरु दिपक आचार्य जलन,निर्जल आकाश,अमृत ढकाल ,गोल्डेन उद्भास,र यो पक्तिंकारले चलाएका थिए । यो बाहेक अरु गजलको विकासका लागि सृजनात्मक आन्दोलन भएको छैन जस्तो लाग्छ ,भएको भए माफ पाँऊ यो पक्तिंकारलाई थाहा छैन। 

गजलको विकासका लागि भनेर ठाउँ ठाउँमा निरन्तर गजलको बाचनका कार्यक्रम भईरहेका छन । पोखराको अक्षर यात्रा,मधुबनको निरन्तर गजल बाचन कार्यक्रम,कोहलपुरको सनिवारिए बसाई,बिराग प्रतिष्ठानको मासिक गजल बाचन कार्यक्रम जो हाल बन्द भयो,म.प.ग.प्र. को गजलपरिक्रमा कार्यक्रम जो हाल बन्द छ,दाङको मदानि कार्यक्रम,वर्दिया,काठमाण्डौ,चितवन,सुर्खेत,बाके,कैलालि,झापा,अछाम,दाङ,काभ्रेआदि ठाँउमा हुने विभिन्न कार्यक्रम जसले गजलको गुणात्मक बिकाश भन्दा गणनात्मक विकाशमा टेवा पुराए । 

मलाई केहि गैर गजलकार मित्रहरु कहिले काहिँ सोध्छन किन जसका गजल पढ्दा पनि एउटै गजल पढेजस्तो लाग्छ?यो गजलको शैदान्तिक पक्ष ले होकि यसमा दोहोरिने वा उठान हुने विषयवस्तुको कारणले हो?यो कुरा मलाइ पनि खट्किएको विषय हो।कहिले काहि मलाई पनि गजलहरु पढ्दा सबै एउटै जस्तो लाग्छ,। गजल गंगाको अन्र्तरवार्तामा खगेन्द्र संग्रौला ले भनेका थिए दश वटा गजलको भाव एउटै हुन्छ भने नौ वटा गजल च्यातेर एक वटा गजल राखे भैगो नि यो बास्तविक यथार्थ हो। पृथक विषयवस्तुको अभाव,शिल्पज्ञानको अभाव,पृथक अन्दाजेवायाँको अभाव,विषयगत ज्ञान र लालित्य अभिव्यक्तिको अभाव ,आपनोपन र मौलिकताको अभावले गर्दा गजलमा यो समस्या देखा परेको छ। पछिल्लो समयमा गजलमा देखिएको सबै भन्दा ठुलो समस्या र कारण भनेको फ्रेमवाद (हरेक विषय वस्तुलाई एउटै फ्रेम ÷साँचोमा ढालेर सृजना गर्नु),प्रभाववाद (प्राय अर्काका रचना÷सृजना वा आपनै रचना÷सृजना बाट प्रभावित भई सृजना गर्नु जसमा आपनो मौलिकता नहुनु), र चोरिवाद (अर्काका रचना÷सृजना आंशिक वा पूर्णरुपमा चोरि गरि सृजना गर्नु) नै हुन। । गजल गजल जस्तै हुनुपर्छ,जसको आपनै संरचना र सिदान्त हुन्छ । 

एउटा राम्रो गजल हुनलाई गजलको संरचना र विषयवस्तु मात्र भएर पुग्दैन,जसरि मान्छे हुनलाई उसको शारिरीक संरचना भएर मात्र पुग्दैन ।निरज भटराईका अनुसार रचना र रचनाकारको काव्यशिल्प , अध्ययन, मिहेनत , अन्तर्निहित क्षमता , पृथक अभिव्यक्ति ,संगत ,हौसला,विधागत ज्ञान,विषयको पकड बाहेक पनि अन्य केहि चीजहरु हुन्छन जसले यौटा राम्रो गज़ल तयार हुन्छ । अक्सर त्यस्तै केहि अव्यक्त र अवर्णनिय गुणहरुको स(सानो जोड घटाउमा यौटा असली गज़ल र अन्य केहि गज़ल रुपी रचनाको भेद लुकेको हुन्छ । मैले कुनै दिन गजलकार तथा कवि रावत लाई गजल लेख्न किन छोड्नुभो भनेको थिएँ उनले भनेका थिए मैले लेख्नुपर्ने जति गजल लेखिसके अब दश बर्स जति लेख्दैन तत्काल लेखेपछि भाव दोहोरिन्छ त्यसैले नलेखेको हो छोडेको होईन ।तर्क सहि हो ।कविता,कथा,उपन्यास आदिको पनि त शैदान्तीक पक्ष हुन्छ किन त्यो हरेक फरक कृति पढ्दा हरेकमा फरक स्वाद पृथकता लाग्छ?यसको कारण के यसमा भएको विषयगत विविधता र सृजनात्मक मौलिकता नै हो वा अन्य केहि कारण ।सधै लिपिष्टीक ,कस्मेटिक,र चक्लेटि गजल लेख्दै आएका माझ कसैले आपनो मौलिकता, पृथकता वा सृजनात्मक अराजक भएर गजल लेख्यो भने त्यसलाई स्विकार्न डराउनेहरुको एउटा भिड छ ।

गजलमा जिवन पानीको पानीमुनिको आकाश सृजनात्मक अराजकता र पृथकताको एउटा बलियो उदाहरण हो,उनका गजलमा विषयगत विविधताका साथै शैलिगत पृथकता अपनाई अराजक भएर गजलको सृजना भएको पाइन्छ । त्यतिखेर धेरैले जिवन पानीका गजललाई गजल नै भएनन भने। बाबु त्रिपाठिको बा, रावतको यस्तोबेलामा कृतिले पनि नेपाली गजल साहित्यमा आपनो पृथक पहिचान छोडेका छन । पर्वत शर्मा एम.पि.पनि गजल लेख्दा बढि संरचनात्मक अराजक भएर लेख्छन । 

किन हामी कसैले गजलमा फरकपन ल्यायको स्विकार्न सक्दैनौ ?सामान्य सिद्दान्त समेत नबुझेर कसैले पनि गजल लेख्दैन,रह्यो कुरा लयको। लय त हरेक सृजनामा हुन्छ ।चाहे त्यो आख्यान होस, कविता वा गजल । लक्ष्मी प्रसाद देवकोटाको यात्री र पागल कविता, भुपि शेरचनको हामी कवितामा के लय नै छैन त ? हामीले खोजेको लय आक्षरिक लयमा हो वा गतिमा ? हामी साना साना विषयमा अल्झेर सृजनाको मुख्य धर्मिता अथवा लेखकिय धर्मिता विर्सदै छौँ ।हामि त्यसले उठाएको विषयवस्तु,त्यसले दिएको विचार र त्यसको भाव पक्षलाई विचार नगरी त्यो बहरमा छ कि छैन?त्यसमा अक्षर वरावर छ कि छैन?आदि गौण पक्ष खोज्न लाग्छौ । ज्ञानुवाकर पौडेलले शाश्त्रीय रुपमा लेखिदै आएको र छन्द,वहर र लयको अनिबार्यताको साघँरो सोचलाई भत्काई गजल मा मुक्तलेखन शैलि भित्राइ कवितात्मक नबनाएको भए गजल जुन अवस्थामा छ त्यँहा हुन्थ्यो हुन्थेन भन्न सकिदैन । 

अब गजलमा बहस हुन जरुरि छ ।एक शताब्दी लामो समय गजल लेखेर विताइयो। अब आज सम्म लेखियको विषयमा पूर्नमुल्यांकन तथा समिक्षा हुन अति आवश्यक छ।गजलको एक शेरनै एउटा कथा,एउटा उपन्यास बराबर हुन्छ भन्ने एकदमै भ्रम हटाई गजलको उचित समिक्षा र समालोचना मा जोड दिने बेला भएको छ ।

गजलमा अनावश्यक तालि पिटेर हल्ला मच्चाउनु भन्दा, अनावश्यक प्रशंसा गर्नु भन्दा उसकोे शेर माथि छलफल,मन्थन र समिक्षा गर्नु वुद्दिमानि होला। तर किन हुन सकेको छैन गजलको छलफल,बहस र समिक्षा?यसको समिक्षाका लागि उचित स्तर नभएर हो वा गजल को समिक्षक को अभाव? 

मैले एकपटक बावु त्रिपाठीलाई एउटा पत्रिकाको अन्र्तवार्तामा सोधेको थिएँ किन नेपालि गजलको समिक्षा हुन सकेको छैन?उनले भनेका थिए अहिलेका नाम चलेका समिक्षकमा गजल ज्ञानको अभाव छ, गजलको ज्ञान भएको समिक्षक नेपालमा छैन ।के साच्चै नेपालमा गजलको ज्ञान भएको समिक्षक नभएको हो त ?कि समिक्षा नभएको हो ? तलास,पानिमुनि को आकास,ओ ईरान कि मेनका,अलि अलि मुर्छना अलि अलि होस,मुस्कान,हल्का मध्यपान,यस्तो बेलामा,बा,खण्डहर नयाँ नयाँ,केही त छ जरुर,बेग्र चाँदनि,अन्तिम,आगो,सफर,तस्वीर जस्ता कृतिहरु के साँच्चै समिक्षा हुन लाएक छैनन् त ? कतै हामी त चुकेनौ गजललाई वौदिक र काव्यात्मक बनाउन ?कि हामीले गजललाई सस्तो र हल्का विधा त बनायनौ ?

पचासौ गजल संग्रहको भुमिका लेखिसकेका अनि प्रकाश राजापुरिको गजलको शेरबाट नै लेखको सुरुवात गर्ने साहित्यकार डा. गोविन्दराज भटराईले किन गरेनन् यसको समिक्षा? किन भने गजललाई बनमारा झार ? भरत रोदन,टिकाराम उदासिले किन गर्न सकेका छैनन् खुलेर गजलको समिक्षा ?किन भने साहित्यकार खगेन्द्र संग्रौला ले वर्तमान नेपालि गजललाई दृष्टिकोणविहिन र मेरुदण्डविहिन साथै बेतुकको भावुकता भरिएका, वर्तमान निषेधि,कथ्यमा मौलिकता र शिल्पमा विशिष्टता विनाका,जिवनमा सजिव रगं,रस र सुवासविहिन र थाङने गजल भनेर किन संज्ञा दिए यस्तो खस्रो टिप्पणी ?धेरैले यो कुरामा मौन असहमति जनाय पनि किन कसैले यसको प्रतिवाद गरेनन ?गजलको कार्यक्रममा लामा लामा भाषण गरेर नथाक्ने ज्ञानुवाकर,कृण्णहरी बराल,कोपिलाहरु किन मौन बसे ? की यो सत्य हो ? के सबै गजलकारमा उनको यो अभिव्यक्ति लागु हुन्छ त ?उनि हरुले दिएको अभिव्यक्ति सहि वा झुटो यो त समयले फैशला गर्ला,तर के कुरा सहि हो भने गजललाई गम्भिर साहित्यीक विधा बनाउन हामि कहिल्यै लागेनौ वा भनौ ध्यान नै दिएनौ केहि व्यक्ति बाहेक बरु गजलमा दोहोरी खेल्ने,गाउने,आदि गरी सस्तो लोक प्रिय बनाउन तिर लागेकै हो । आख्यान पढ्ने फुर्सद कसलाई छ ?

एउटा उपन्यास पढ्ने समयमा त दश वटा गजल लेख्न सकिन्छ किन समय बवार्द गर्ने भन्ने भ्रम ले ग्रसित गजलकार साथि हरु पनि छन । उनिहरुलाई राम्रो र स्तरीय गजल होइन कि धेरै गजल लेख्नु छ । के जान्छ विषय दोहोरियोस कि भाव?गजल भए त भइ त गो नि तालि पिट्ने र वा,वा भन्ने पनि एउटा भिँड छदैँ छ । यस्तो संक्रमणकालिन अवस्थामा अधिकासं राम्रो गजल लेख्ने भोजराज शर्मा नादिर,रावत,हेम प्रभास,धिरज त्रिवेणि, शितल कादम्वीनि,बसन्त विवस, अविरल ओझेल,विनोद अनुज,प्रकाश आङदाङवे,सितल शुन्य,रामचन्द्र आर्शि, अमृत ढकाल, गोल्डेन उद्भास,निर्जल आकाश,अमृत निर्जन,डम्मर वि.सि.,इन्द्रजित आभास,पर्वत शर्मा,मानिश, बासुदेब गौतम,त्रसित बसन्त,जस्ता स्रष्टाले गजलप्रति देखाएको उदासिनता पनि प्रबल कारण हो जस्तो लाग्छ र यो एकदम भयानक अवस्था पनि हो ।

स्रष्टामा भएको साहित्यीक चेतनाको अभाव र गजल ईतर साहित्यको अध्यन नगरी ,खोक्रो आडम्बर र आत्मरतिमा रमाई रचना गरिएका सृजनाले कस्तो उचाई लिन्छ सहजै अनुमान लगाउन सकिन्छ ।केहि यस्ता स्रष्टा छन जसलाई आख्यान भनेको के हो भन्ने समेत हेक्का छैन अनि यिनले कहिले बुझने साहित्यको सौन्दर्यशास्त्र, कहिले बुझने शिर्जनशिल अराजकता, कहिले बुझने सवाल्र्टन साहित्य, कहिले बुझने उत्तरआधुनिकतावाद र डाइस्पोरिक साहित्य ?यो हुनुमा म यिनको कम अग्रज को दोष बढि देख्छु । मलाई हासो लाग्छ फेरी यिनै भन्छन नेपालि साहित्यमा सक्तिशालि विधाका रुपमा रहेको छ गजल। हामिलाई गजलका हवाई पत्रिका र गजल संग्रह बाहेक गजल इतर साहित्य पनि पढ्छन भन्ने सिकाइएन, त्यो त समयको बर्वाद पो हो भनियो र पढ्नुहुदैन भनियो अनि आखाँमा गजलको कालो पटि बाँधेर आत्मरतिमा रमाउन सिकाईयो र आपनो पुरा सृजनात्मक समयलाई बर्बाद गरियो । फेरि हामी त्यहि अन्धकार बाटोमा हिडाउदैछौ नया पुस्तालाई।मैले गजल साहित्यलाई अन्धकार बाटो भनेको होईन,गलत अर्थ नलागोस,मैले अन्धकार भनेको साहित्य प्रतिको चेतना,बुझाइ र समझ विनाको यात्रालाई मात्र संकेत गरेको हो । 

पछिल्लो समयमा गजलमा केहि एकदम आशा लाग्दा प्रतिभा को उपस्थिति छ ।जसका सृजना पनि एकदम जिवन्त छन।र यिन मा साहित्यीक चेत अनि समझ पनि छ । मलाई डर छ कतै यिनिहरु पनि हराउने त होइनन्? हामि माझ एउटा यस्तो परम्परा विकाश गरिदै छ जस्ले नयाँ स्रष्टालाई केहि छिन हौसला दिन्छ र सदा का लागि गजल बाट फ्रस्टेड बनाइदिन्छ ,त्यो परम्परा भनेको एउटा स्रजग बाट उसको रचना छाप्न लाई पनि लिने र उसै बाट छापिदिए बापत उल्टै रकम पनि लिने ।एउटा फालेको सिसाको बोत्तल त पाँच रुपैया मा बिक्छ,फालेको कागज त किलोको विस रुपैयामा विक्छ भने एउटा स्रष्टाको रचना त्यसको के मुल्य नै छैन? एउटा स्रष्टाको रचना छापिए बापत स्रष्टाले पारिश्रमिक पाउने ठाँउमा उल्टै दस्तुर तिर्नु परिरहेछ यो जस्तो बिडम्बना एउटा लेखकको लागि अर्को के हुन सक्छ?

कविता,कथा,तथा अन्य विधा का रचना छापिए पछि उसले रचनाको पारिश्रमिक पाउछ तर गजलकार विचरा त्यहि रचना छपाउन पारिश्रमिक तिर्छ ।यस्तो कार्यले जब स्रष्टाले बास्तविकता बुभ्mछ अनि उसको हालत के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ?भन्दाखेरि आफुलाइ गजलको अभियान्ता भन्ने अनि श्रष्टालाई उसको पारिश्रमिक दिलाउने समयमा उल्टै नै शोषण गर्न थालेयौँ भने के त्यो न्याय संगत हुन्छ त ?यो यथार्थता धेरै लाई अपाच्य हुन सक्छ ।अब यि नयाँ स्रष्टाले यो कुरा बुझन जरुरी छ र बुझन जरुरी साहित्यको सौन्दर्यशास्त्र, यसका साथ साथै यि श्रष्टाले आफुले भोगेको समाज,आफुले बाँचेको जीवन,र आफुले देखेको समय बुझन जरुरी छ ।

सृजनामा आफ्नोपन र मौलिकता हुनु पर्छ अनि मात्र सृजना जिवन्त हुन्छ ।आपनोपन नभएका सृजनामा आपनो होइन अरुको नै उपस्थीति देखिन्छ ।यसर्थ मौलिकता सृजनाको मुख्य धर्मिता हो । यि कुरामा नयाँ पुस्ता सचेत भए भने निसन्देह पनि गजलको गुणात्मक विकाशमा कुनै संका हुने छैन ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment