जिन्दगी भनेको पनी यस्तै त रहेछ नी

देखावटी हाँसो छर्नु पर्दो रै'छ ।
आँशुको सागर तर्नु पर्दो रै'छ ।
पल पल मरेरै भए पनी यहाँ,
बाँचेको नाटक गर्नु पर्दो रै'छ ।


जिन्दगी भनेको पनी यस्तै त रहेछ नी । पलपलमा दु:ख अनी अभाबहरुको बिचमा देखावटि हाँसो हाँस्नु पर्ने, अनेकन घात र प्रतिघातको अन्तरद्वन्द बिच पलपलमा मरेर पनी बाँच्नु पर्ने ।

हुन त सँधै सबै आफुले सोँचेको र चाहेको जस्तो कहाँ हुन्छ र ? यदि त्यसो हुन्थ्यो भने राम-लक्ष्मण १४ वर्षको वनबास जानु पर्दैन थियो । न त रावणलाई आफ्नै राज्यमा मृत्युबरण नै गर्नु पर्थ्यो ।


जिन्दगी भनेकै आशै आशको त्यान्द्रोमा आल्झिएको हुँदो रहेछ । मानिसलाई जति भए पनी नपुग्ने । यसो गऱ्‍यो, उसो गऱ्‍यो, फेरि अर्को प्राप्तीको आशा लागी हाल्ने । 'शास्त्रमा भनिएको छ कर्म गर तर फलको आशा नगर' तर फल प्राप्ति नै नहुने भए कर्म चाहिँ किन गर्ने ? एउटा सोँच्नै पर्ने प्रश्न यहाँ निर पनी उत्पन्न हुन्छ । र त्यसो भन्दैमा हरेक कृयाको प्रतिकृया हुन्छ भने जस्तो हरेक कामको फल प्राप्त हुन्छ भन्ने कुनै आधार चाहिँ नहुँदो रहेछ । र जिन्दगीमा पनी त्यस्तै भईदिन्छ ।

मनको सामिप्यतामा ठगी जस्तो ।
यादहरु पनी अन्तै बन्धकी जस्तो ।
यो मन आज खै के के भनि रहेछ,
जिन्दगी पनी छैन जिन्दगी जस्तो ।


हो अचेल जिन्दगी पनी छैन जिन्दगी जस्तो । यो मनले खै अचेल के के सोँचि रहेछ । बर्तमान भन्नु नै विगतहरुको दस्ताबेज जस्तो भई रहेछ । केवल विगतका यादहरु र तिनै सम्झनाहरुको समिश्रणबाट एउटा नयाँ परिधी तयार भएको छ । लाग्छ जसको सिमा म कहिल्यै पार गर्न सक्दिन । र तिनै बिगत मेरो बर्तमानमा रमाउने सारथी भएका छन । एउटा त्यस्तो बिगत जसले दिएको छ अनगिन्ती यादहरु, हो केवल यादहरु । यिनै यादहरु त हुन जिन्दगी ज्यूने आधार, बिगतको सम्बन्धबाट छुट्टिए पछि ज्यूने आधार...

डुँगा जस्तै सपनाहरु वार पार नहुँदा ।
जिवन जिउनुको निश्चित सार नहुँदा ।
तस्विरहरु मैले फिर्ता पठाईदेको छु,
तिम्लाई आफ्नो भन्ने कुनै आधार नहुँदा ॥


मलामी गएर फर्किएको मान्छे जति भावुक सायद अरु कोहि हुँदैन । बाँचुन्जेलीको लुछाचुडी, तेरोमेरो गरे पनी आखिर मृत्यु पर्यन्त एक सरो कात्रो बाहेक अरु के नै पो हुन्छ र उ संग । उसले जिवन भन्नु के हो भन्ने नजिक बाट देखेको हुन्छ । हुन त बिछोड बेहोरेको मान्छे पनी भाबुक हुन्छ उसले पनी सम्बन्ध र बाचाकसम भनेको के नै पो हुन्छ र भन्ने भोगेको हुन्छ । तर पनी ति दुबै परिस्थितीका भावुकतामा केहि फरक भने अवस्य नै हुन्छ ।

आखिर यादहरु भनेका ढुंगामा कोरिएका अक्षर वा तस्विर जस्तै हुँदा रहेछन । जस्लाई धुलोले ढाक्न सक्छ तर कहिल्यै मेटिँदैन । कसैले भनेको थियो 'यादहरु आउन जान्दछन तर जान जान्दैनन' , हो तिम्रा यादहरु पनी त्यसैगरि पटक्कै जान मानी रहेका छैनन्‌ जसरि तिमीले बाटो मोडेर हिँड्यौ ।

रंगिचंगी अनेक त्यो शहरको देखेर होला ।
तिमी धनी म गरिब घरको देखेर होला ।
वर्षौ पछि भेट हुँदा नदेखेझैँ हिँड्यौ तिमी,
सायद मेरो झुपडी खरको देखेर होला ॥
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment