पहिलो थारू नगर प्रमुख बने दुर्गाबहादुर थारू


बर्दिया : पश्चिम नेपालको बर्दियाको बारबर्दिया नगरपालिकामा थारू समुदायबाट दुर्गाबहादुर थारू (कवीर) नगर प्रमुखमा विजयी भएका छन् । स्थानीय तहको निर्वाचनमा पश्चिम नेपालबाट नगरपालिकाको प्रमुखमा थारू समुदायबाट विजयी हुने दुर्गाबहादुर थारू पहिलो हुन् । उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए ।

स्थानीय तह निर्वाचनमा थारू समुदायबाट नगरपालिका प्रमुखमा विजयी हुने उनी पहिलो हुन् । २० वर्षअघि भएको स्थानीय निर्वाचनमा पनि गाउँ विकास समिति अध्यक्ष र वडाध्यक्षमा थारू समुदायबाट विजयी भए पनि नगरको प्रमुखमा भने थारू समुदायबाट कोही वजियी नभएको बर्दिया बाँसगढीका थारू अगुवा एवं गुरुबाबा एफएमका संचालक एकराज चौधरीले बताए । ‘दाङदेखि पूर्वतिर कोही थारू नगर प्रमुख थिए वा थिएनन् थाहा भएन, तर यताचाहिँ उहाँ पहिलो हो’, एकराजले भने । बारबर्दिया नगरपालिकाबाट बिजयी भएका दुर्गाबहादुर थारू पहिलो नै भएको बाँकेका पत्रकार विश्वराज पछल्डंग्या पनि बताउँछन् । ‘हुन त अरू पनि थारू उम्मेदवार उठेका छन्, तर उहाँ विजयी भएको पहिलो थारू नगर प्रमुख हो’, उनले भने । लामो समयदेखि थारू बाहुल्य रहेको क्षेत्र बर्दियाको भुरिगाउँमा रहँदै आएका रेडियो टाइगर एफएमका स्टेशन मेनेजर भावुक योगी पनि थारू समुदायबाट नगर प्रमुखमा विजयी हुने पहिलो थारू दुर्गाबहादुर थारू नै भएको बताउँछन् । बारबर्दिया नगरपालिकाकोे प्रमुखमा विजयी माओवादी केन्द्रका दुर्गाबहादुर थारूले ११ हजार ४२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर चौधरीले आठ हजार ६४५ मत ल्याए । यस्तै, उपप्रमुखमा माओवादीकी अञ्जु दहितले ११ हजार ११ मत ल्याएर विजयी बनिन्।

‘हो, म पश्चिम नेपालकै पहिलो नगर प्रमुखका रूपमा विजयी भएँ, यसअघि नगर प्रमुख थारू समुदायबाट कोही भएको थाहा पाएको थिइनँ’, नगर प्रमुखमा विजयी भएपछि विजय उत्सवमा रहेका थारूले भने । यस नगरपालिकाबाट मुख्य दलका तीनै जना थारू समुदायकै उम्मेदवार थिए । नेपाली कांग्रेसबाट पर्शुराम थारू, एमालेबाट रामबहादुर चौधरी र माओवादी केन्द्रबाट दुर्गाबहादुर थारू प्रमुखका उम्मेदवार थिए ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment